News Griha :: न्यूजगृह
बागमती प्रदेश खेलकुद : भलिबलमा काठमाडौं र चितवनलाई उपाधि 

हेटौँडा— बागमती प्रदेश खेलकुदमा भलिबलतर्फको उपाधि काठमाडौं र चितवनले जित्न सफल भएका छन् । 

हेटौँडास्थित हुप्राचौर खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । 

काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै पुरुषतर्फ स्वर्ण जित्यो । 

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीको आधारमा भएको थियो । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गर्‍यो ।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए । विधागत रूपमा पुरुषतर्फस्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश  महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए । 

महिलातर्फ काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । विधागत रूपमा महिलातर्फ स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:१९
Weather Update