News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चलचित्रमा सुन्दरता के हो ?

काठमाडौं— सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरे ।

विश्वमै फरकफरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राखे । ५ जेठबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उनी नेपालमा छन् ।

चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा : सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका उनी निर्देशित चलचित्र विश्वभर प्रख्यात छन् ।

Prabhu Bank

त्यसैले पनि उनको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ । विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जवाफ छ,‘जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’

उनले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का कथा छन् । देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ ।

काठमाडौंमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ । उनले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला ? भन्ने अनुमान गरिहाल्छौँ ।

चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ । अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ । यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतिकरण हो । तर, पर्दाभन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त ?

निर्देशक नोर्बु भन्छन्,‘चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउनु पर्छ । तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन् । ती स्वतन्त्र छैनन् ।’ उनले निर्देशन गरेको ‘डाकिनी’ सरल छ । ‘प्रयास गर्नुपर्छ । पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ । ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ’, उनले भने,

‘चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ । अनिमात्र चलचित्र बनाउन सकिन्छ ।’ चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उनी बताउँछन् ।

निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उनको बुझाइ छ । चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उनको भनाइको तात्पर्य थियो । 
‘हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ । म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ । अनिमात्र म कथा भन्न सफल हुन्छु । नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ’, उनले भने ।

लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उनले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहेका थिए सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उनले सुझाए । चलचित्रलाई उनी माध्यमका रुपमा बुझ्नछन् । उनको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि । किनकि उनी समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहँदैनन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:०४
sagarmatha cementsagarmatha cement
Weather Update