News Griha :: न्यूजगृह
आईपीएलमा लखनउ पराजित, मुम्बई दोस्रो क्वालिफायरमा

काठमाडौं— मुम्बई इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले पूरा गर्न सकेन । लखनउ १६ दशमलव ३ ओभरमा १ सय १ रनमै समेटिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईसँग पराजित भएसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाईटन्ससँग खेल्ने छ । यो खेलको विजेताले उपाधिको लागि पहिलो क्वालिफायरको विजेता चेन्नाईसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आईपीएल २०२३ को फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:०५
Weather Update