
काठमाडौं— घरेलु टोली नेपाललाई हराउँदै जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भारत समूह ए को विजेता बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार भएको खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३–१ को सेटमा हराएको हो । पहिलो सेट १२–२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४–२६ ले गुमाए पनि तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।
तर, चौथो सेट २५–२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का ग¥यो ।
जितसँगै समूह ए को भारत ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो छ ।
समूह ए को उपविजेता बनेको नेपालले आगामी शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत बुधबार नै भएको खेलमा काजकिस्तान र किर्गिस्तानले आ–आफ्नो खेल जितेका छन् ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता छ ।
समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह बी मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।