
दाङ— चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बालचलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ ।
आगामी असार १, २ र ३ गते दाङको घोराहीमा आयोजना गर्न लागिएको महोत्सवको तयारीबारे बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर स्थानीय सरोकारवालसँग छलफल गरेका हुन् ।
बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवर्द्धन गर्ने र उनीहरूलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीको भनाइ छ ।
‘महोत्सवमा बालबालिकासम्बन्धी चेतनामूलक र प्रेरणादायी चलचित्रहरू प्रर्दशनी गरिनेछ । बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरू आह्वान गरिएको छ ।’
छलफलमा सहभागीहरूले महोत्सवले बालबालिकालाई सन्देशमूलक शिक्षा दिने र उनीहरूको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ–आफ्नो तवरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवमा सहभागी हुन १५ जेठभित्रचलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । महोत्सवमा वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परी प्रदर्शन भएका चलचित्रहरूलाई प्रोत्साहन स्वरूप बोर्डको निर्णयबाट केही रकम समेत उपलब्ध हुनेछ ।
महोत्सवमा चलचित्रहरूको प्रदर्शनीसँगै चलचित्र ज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।
महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ ।