
काठमाडौं— नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले १५ जेठदेखि १५ दिन लामो ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ आयोजना गर्ने भएको छ ।
आइतबार आयोजकले नेपाल कला परिषद्, बबरमहलमा १५ देखि ३० जेठसम्म ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा प्रदर्शनी आयोजना हुने जानकारी दिएको हो । प्रर्दशनीका लागि लोक कला तथा परम्परागत चित्रकला विधाका कला कृतिहरु, आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका लगायतका कलाकृतिहरू नेपाल कला परिषद् तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा राखिने छ ।
यो वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कला कृतिमध्येबाट छनोट गरिएका ६१० कलाकारका ६९७ कलाकृति प्रर्दशनीका लागि राखिने आयोजकले बताएको छ ।
यसवर्ष एक लाख राशीको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई संयुक्त रुपमा प्रदान गरिने राष्ट्रिय ललितकला प्रतिष्ठानका कार्यकारी संयोजक लालकाजी लामाले बताए । उनले भने, ‘यो वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानवहादुर दोङलाई लिने निर्णय भएको छ । त्यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुङ्गानालाई प्रदान गरिनेछ ।’
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवर्द्धन सम्मान पुरस्कार संगीता थापालाई प्रदान गरिने तथा राष्ट्रिय ललितकला प्रदर्शनीको सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिने लामाले बताए ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । ६० हजार राशीको समसामयिक चित्रकला विधाको यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमालले पाउने भएका छन् । यसै विधामा प्रतिष्ठानले ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गर्ने बताएको छ । परम्परागत चित्रकला विधामा राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरले पाउने भएका छन् भने यसै विधामा ललितकला विशेष पुरस्कारतर्फ रवीन्द्र महर्जन र तारामान भीर्माजुन लाई प्रदान गरिने भएको छ ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमालले पाउने भएका छन् भने यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुधिना शाक्य, भाव भी कलाबाट सुशान्त श्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई दिने प्रतिष्ठानले जनाएको छ ।
हस्तकला विधामा शानीराज बज्राचार्यलाई पुरस्कार प्रदान गरिने तथा यसै विधामा ललितकला विशेष पुरस्कार जोखमान महर्जन र सुमित्रा भुजेललाई दिइने लोक कला विधामा ललितकला पुरस्कार नम्रता सिंहले पाउने भएकी छन् भने यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णले पाउने भएका छन् ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनले पाउनले भएका छन् भने यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई र समसामयिक मूर्तिकला विधामा ललितकला पुरस्कार रिसिता खत्रीलाई तथा यही विधाको विशेष पुरस्कार टिकाराम पौडेल र मिना कायस्थलाई प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।