News Griha :: न्यूजगृह
९ करोड लगानीको फिल्म ‘डाकिनी’ ६ हलमा मात्रै रिलिज

काठमाडौं— फिल्मको कुल लगानी ९ करोड । तर, फिल्म रिलिज भएको हल सङ्ख्या मात्रै ६  

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘डाकिनी’को निर्माण टिमले नेपाली बजारमा अचम्मको बजार रणनीति अपनाएको छ । 

यसै त नेपाली फिल्महरू देशभरका हलहरूमा वर्चश्व कायम गर्दै प्रदर्शनमा आउँदा पनि लगानी ‘रिकभर’ गर्न सक्दैनन् । पछिल्लो तथ्याङ्क हेर्ने हो भने ५ प्रतिशत फिल्मले मात्रै नेपाली बजारबाट आफ्नो लगानी सुरक्षित गर्दै आएका छन् । लगानी ‘रिकभरी’ नहुने स्पष्ट हुँदाहुँदै पनि ‘डाकिनी’ टिमले किन यस्तो खालको बजार नीति अपनायो त ?

‘हामीले फिल्मको प्रचारप्रसार र हल्लाखल्ला गरेर नेपाली दर्शकलाई झुक्याउने प्रयत्न गरेनौँ । किनभने हामीलाई राम्रोसँग थाहा छ यो नेपाली दर्शकसँग स्वाद मिल्ने फिल्म होइन,’ डाकिनी अभिनेता तथा निर्माण कम्पनी षट्कोण आर्ट्सका सञ्चालक रविन्द्रसिंह बानियाँले भने, ‘त्यसैले हामीले सीमित हलहरूमा मात्रै टार्गेटेड अडिएन्सका लागि शो राखेका हौँ ।’

थोरै हलहरूमा मात्रै प्रदर्शनमा आउँदा यो फिल्मले लगानी रिकभर नगर्ने कुरामा निर्माण कम्पनी जानकार छ । ‘खासमा पैसा कमाउनका लागि यो फिल्म बनेकै होइन ।’ बानियाँले भने, ‘बुद्ध दर्शनमा आधारित यो फिल्म बन्नुपर्छ भन्ने लागेपछि क्राउड फन्ड जुटाएर फिल्म निर्माण गरेका हौँ । त्यसैले लगानी रिकभरीको लागि मरिहत्ते गर्नुपर्ने पनि छैन ।’

यो फिल्म तिब्बती बुद्ध दर्शनमा आधारित छ । फिल्मलाई बौद्ध धर्मगुरु खिन्से नोर्बुले निर्देशन गरेका हुन् । यो फिल्म निर्माणका लागि नोर्बुले देशविदेशमा रहेका आफ्ना शिष्यहरूमार्फत ‘फन्ड’ जुटाएका थिए । तिब्बती दर्शनमा आधारित यो फिल्ममा ६० प्रतिशत नेपाली र ४० प्रतिशत तिब्बती भाषाको प्रयोग भएको निर्माण कम्पनीले जनाएको छ । 

के हो डाकिनी ?

तिब्बती बौद्ध दर्शनका अनुसार ‘डाकिनी’ भनेको आकाशमा नाच्ने पौराणिक पात्र हो । दर्शनलाई आधार मान्ने हो भने डाकिनी भनेको जुंगा र दाह्री भएको महिला पात्र हुन् । जो दैविक शक्तिधारी हुन्छिन् । 

लामा छुल्ठिम एलियोनको पुस्तक ‘विस्डम राइजिङः अ जर्नी इन्टु द मण्डला अफ द इम्पावर्ड फेमिनिन’मा उल्लेख भएअनुसार डाकिनी सङ्क्रमणकालीन समयमा देखा पर्छिन् । ‘जस्तो जीवन र मृत्युको बीचमा । निन्द्रा र जगाइको बीचमा । साधना र समाधिको बीचमा ।’

डाकिनीको निर्माण युनिटले पनि तिब्बती बौद्ध धर्मको यही दर्शनलाई आधार बनाएर फिल्म निर्माण भएको जनाएको छ । यो तिब्बती मूलको एक युवाको कथा हो । जसले एक रात विचित्रको सपना देख्छ । र, उसले आफ्नो साथीलाई सपना बारे बताउँछ । जब उसको साथीले सपनाको अर्थ खुलाउँदै ऊ सात दिन मात्र बाँच्न सक्ने बताउँछ, त्यसपछि फिल्ममा डाकिनीको खोजी हुन्छ । 

सपनामा विचित्रको दर्शन पाउने युवाले सात दिनभित्र डाकिनीसँग भेट गरेमा मात्र आफूलाई बचाउन सक्ने भएपछि सोही क्रममा हुने डाकिनीको खोजी नै फिल्मको मुख्य कथा हो । 

फिल्ममा छिरिङ तासी र तेन्जिङ कुन्सेल शीर्ष भूमिकामा देखिएका छन् । डाकिनी पात्रको रूपमा निर्देशकले अभिनेता रविन्द्रसिंह बानियाँलाई फिचर गरेका छन् । अभिनेताहरू कर्मा र दिव्यदेव पनि फिल्ममा प्रमुख पात्रको रूपमा देखिएका छन् । 

विदेशका १३ भन्दा बढी फेस्टिभलमा सहभागिता जनाइसकेपछि डाकिनी नेपालमा रिलिज भएको हो । रिलिजभन्दा अगाडि यो फिल्मलाई ‘मुभी लभर्स’ नामक समूहले ‘स्पेशल स्क्रिनिङ’ गरेको थियो । स्क्रिनिङसँगै फिल्मका निर्देशक खिन्से नोर्बुले ‘सुन्दरता पासो हो’ शीर्षकमा विशेष धार्मिक प्रवचन समेत दिएका थिए । 

दर्शक मनोविज्ञानले निर्धारण गर्छ बाँकी स्क्रिनिङ

फिल्म डाकिनीको निर्माण कम्पनी षट्कोण आर्ट्सले हाल स्क्रिनिङ भइरहेको फिल्म दर्शकबाट माग भएको खण्डमा शो संख्या बढाइने जनाएको छ । ‘स्लो पेसको यो फिल्म आम दर्शकलाई नरुच्न सक्छ भन्ने लागेर नै हामीले शो कम राखेका हौँ । यदि फिल्मलाई दर्शकले रुचाए भने हामीले शो सङ्ख्या थप्दै लैजानेछौँ,’ षट्कोण आर्ट्सका बानियाँले भने । 

मार्क लि पिङ बिङले छायाङ्कन गरेको फिल्मलाई यु ताओले सम्पादन गरेका हुन् । रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्मातामा झुआनझुआन सियान, ओलिभिया ह्यारिसन, राम राजु, केट मेकेरी रहेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:०६
Weather Update