News Griha :: न्यूजगृह
ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा फ्रेण्ड्सलाई हानी

काठमाडौं— साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुई पटकसम्म लिएको अग्रतालाई जोगाउन नसक्दा उपाधि होडमा रहेको मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीले फ्रेण्ड्सलाई रेलिगेशन क्षेत्रबाट उम्किन कठिन भएको छ । बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । फ्रेण्ड्सको समान खेलबाट २१ अंक छ जुन एक स्थान माथि रहेको एपीएफको भन्दा एक अंकले मात्र पछाडि रहेको हो ।

फ्रेण्ड्सका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक/एक गोल गरे । मच्छिन्द्रका लागि दुवै गोल अफिज ओलावालेले गरे । दुवै टोलीले पहिलो हाफ गोलरहीत बराबरी खेलेका थिए ।

रेलिगेशन क्षेत्र छाड्ने लक्ष्यसहित दोस्रो हाफमा आक्रामक खेलेको फ्रेण्ड्सले ६८औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । प्रकाशले डोना थापाले उपलब्ध गराएको बललाई अगाडि बढाउँदै मच्छिन्द्रका रक्षक र गोलकिपरलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए । पछि परेपछि मच्छिन्द्र आक्रामक रणनीति लियो ।

फ्रेण्ड्सको अग्रता लामो समयसम्म टिक्न सकेन । तीन मिनेटपछि नै अफिजले मछिन्द्रका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । अफिजले युटा सुजुकीको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । ७९औं मिनेटमा अन्जल महर्जजको क्रसलाई गोलमा परिणत गर्दै अमिनु फ्रेण्ड्सलाई २–१ को अग्रता दिलाए ।

८३औं मिनेटमा अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–२ को बराबरीमा ल्याएपछि दुवै तर्फबाट थप गोल हुन सकेन र अंक बाँड्न बाध्य भए । मच्छिन्द्र लिगमा फ्रेण्ड्सविरुद्ध अपराजित रह्यो ।

पहिलो लिगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले पनि संकटा क्लबसँग समान २–२ को बराबरी खेल्यो ।

च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य बनेको हो । बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । संकटाको पनि समान खेलबाट २३ अंक नै छ ।

मनाङका लागि दुवै गोल टिमोथी कोफी कुन्डोले गर्दा संकटाका लागि युसेफ एट्रिस र मनिष डाँगीले समान एक गोल गरेका थिए । खेलको १९औं मिनेटमा कुन्डोको गोलमार्फत मनाङले अग्रता लिएको खेलमा  ४४ औं मिनेटमा एट्रिसले संकटालाई बराबरीमा फर्काएका थिए ।

४५औं मिनेटमा कुन्डाले व्यक्तिगत दोस्रो गोल गर्दा मनाङ पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २–२ को बराबरीमा ल्याए ।

बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरे पनि गोल हुन सकेन र दुवैले अंक बाँडे । मनाङ लिगमा संकटाविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा मनाङ १–० ले विजयी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:०४
Weather Update