
बारा— मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा बिहीबारदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा नेपालका ७ मधेससहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरूको सहभागिता छ । आयोजक समितिका संयोजक पेमासिद्धी लामाका अनुसार जिरोगी र पुन्सेतर्फ दुई विधामा सञ्चालन हुने खेल ६ जेठसम्म चल्नेछ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा मुख्य निर्णायक छन् ।
त्यस्तै, अन्तराष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी र नविना बुढाथोकी मगर लगायत पनि प्रतियोगिताको निर्णायक छन् ।
जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० वर्ष सिंगल, १२ वर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० इभेन्टमा प्रतियोगिता सञ्चालन हुने मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए ।