
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग पञ्जाब किङ्ग्स १५ रनले पराजित भएको छ ।
बुधबार राति धर्मशालामा भएको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्रै बनाएको थियो । उसका लियाम लिभिङस्टोनले ९४ तथा अथर्व तैडेले ५५ रन बनाए पनि जित हुन सकेन ।
दिल्लीका इशान्त शर्मा र एनरिच नोर्कियाले समान २—२ विकेट लिएका थिए भने खलील अहमेद र अक्षर पटेलले एक–एक विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । उसका राइली रोसोउ सर्वाधिक ८२ रनमा अविजित रहे ।
पृथ्वी शाले ५४ र डेविड वार्नरले ४६ रन जोडे । पञ्जाबका साम करनले २ विकेट लिए । पराजयसँगै पञ्जाबको प्लेअफ सम्भावना अंक गणितीय मात्रै बाँकी रहेको छ । १३ खेलमा १२ अंक रहेको पञ्जाब तालिकाको आठौँ र समान खेलमा १० अंक रहेको दिल्ली नवौँ स्थानमा रहेको छ ।