साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालले यी देशसँग सामना गर्ने

काठमाडौं— दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १४औं पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक खेल तालिकाअनुसार साफ बैंग्लोरमा ६–१८ असारसम्म हुनेछ ।
यस संस्करणमा नेपालसँगै आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । तालिकाअनुसार नेपाल समूह ए मा रहेको छ ।
नेपाल रहेको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपको सुरुआत नेपाल र कुवेतबीचको खेलबाट हुने भएको छ ।
च्याम्पियनसिपको पहिलो खेल नेपाल र कुवेतबीच ६ असारमा नेपाली समयअनुसार दिउँसो ४ बजे हुनेछ ।
नेपालले दोस्रो खेल ९ असारमा आयोजक भारतसँग खेल्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उनीहरूले १२ असारमा पाकिस्तानको सामना गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १९:०१