काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२औं मिनेटमा लिएको थियो । त्यस्तै ओलावाले अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहँदा अफिजले गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।
जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ ।
त्यस्तै सोमबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । म्यानुअल नानाले ५०औं मिनेटमा शेर्पालाई अग्रता दिलाएका थिए ।
संकटाका आयुष घलानले ७४औं मिनेटमा संकटाका लागि बराबरी गोल फर्काएका थिए । बराबरीसँगै संकटाले १८ खेल खेल्दै २१ अंक जोडेको छ भने हिमालयन शेर्पाको २२ अंक रहेको छ ।