
काठमाडौं— लण्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ हो ।
इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।
पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रतासहित खेल देखाउन सुरु गरिसकेको थियो । ४३औं मिनेटमा बुकायो साकाले गोल थपेपछि आर्सनलले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको सुरुआती मै अर्थात् ५५औं मिनेटमा झाकाले गोल थपेपछि आर्सनललाई सहज जिततर्फ अघि बढ्यो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउँदै खेललाई ३–१ को स्थिति बनाए । तर ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।
यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ । आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।