
काठमाडौं— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गर्दै उपाधिको नजिक पुगेको छ । एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितको सम्भावना बलियो बनाएको हो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पीएसजीका फावियन रुइजले गोल गरेपछि खेलले अग्रता लिन सुरु गरेको थियो । त्यसको १० मिनेटपछि अर्थात् ३३ औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।
दोस्रो हाफको सुरुवाती अर्थात् ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । एम्बाप्पेले नै ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीको अग्रतालाई ४–० मा पुर्याए ।
७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पीएसजी खेलमा ५–० ले अघि बढ्यो ।
दुवैतर्फबाट थप गोल हुन नसके पछि अन्ततः खेल ५–० मा टुंगियो । जितसँगै शीर्षस्थानको पीएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सीमित छ ।