काठमाडौं— ५० को दशकको कथा हो । जतिबेला नेपाली समाजमा सूचना आदानप्रदान गर्न चिठीको चल्ती थियो ।
चिठी पुर्याउन हुलाकी घरघरै पुग्थे । पढ्न नजान्ने व्यक्तिको नाममा आएको चिठी उनीहरूले नै पढेर सुनाइदिन्थे । झोला बोकेर जब हुलाकी गाउँ पस्थे तब परदेशिएका आफ्ना प्रियजनको चिठी आयो कि ? भनेर सोधिखोजी गरिहाल्थे ।
हुलाकी पनि शानसहित झोला खोल्थे र चिठीको बन्डल हेर्न थाल्थे । ‘कसको नाममा आउनुपर्ने हो ? कहाँबाट चिठी आउनुपर्ने ?’ हुलाकीले सोध्थे ।
हुलाकीसँग आफ्ना प्रियजनले पठाएको चिठी भए अनुहारमा देखिने खुसी बिछट्टको हुन्थ्यो । प्रियजनको चिठी नआउँदा भने अनुहार मलिनो । ५० को दशकसम्म नेपालका प्रत्येक गाउँको साझा दृश्य हो यो ।
प्रविधिको विकाससँगै ग्रामिण भेगका मानिसहरूको हातहातमा मोबाइल हुन थाल्यो । हुलाक र हुलाकीको रवाफ सकियो । नयाँ पुस्ताका लागि हुलाक ‘एकादेशको कथा’ जस्तै बनिसक्यो ।
हुलाक अहिले अस्तित्वकै संकटमा छ । वार्षिक साढे ३ अर्ब खर्च हुने नेपालको हुलाकले २८ करोडको मात्रै आम्दानी गर्ने गरेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।
सरकारले बजेट नदिए तलब खान त परको कुरा कार्यालय सञ्चालन गर्न पनि कठिन छ । त्यसो त हुलाक सेवामा अझै पनि १७ हजार कर्मचारी कार्यरत छन् । तर उनीहरू कामविहीन छन् ।
हल्कारा फिल्म
हल्कारालाई चल्तीको भाषामा हुलाकी भनिन्छ । नेपाली फिल्म हल्काराले हुलाकीकै कथा बोकेको छ । एउटा हुलाकीको नजरबाट तत्कालीन समयको नेपाली समाजको घरघरको कथालाई यसका निर्देशक (विक्रम सापकोटा)ले भन्न खोजेका छन् । २९ वैशाखबाट फिल्म देशभरका हलहरूमा लागिरहेको छ ।
पारिवारीक समस्याका कारण ‘एन्जाइटी’को शिकार भएको राम (महेश त्रिपाठी), जो विहानैदेखि रक्सी खाएर बस्छ । नशामा बसेर जीवन बिताइरहेको पात्रलाई रक्सी खानकै लागि पैसा चाहिन्छ । उसलाई जागिरको आवश्यकता पर्छ । आफ्नै ठूल्दाइ (स्वर्गीय दीपक क्षेत्री) हुलाकका हाकिम छन् ।
हुलाकमा काम गर्ने अर्को कर्मचारी भिषा लागेपछि जागिर छोडेर बाहिरिन्छ । एकातिर पैसाको लागि रामलाई जागिरको आवश्यकता अर्कोतिर हुलाकका हाकिमलाई कर्मचारीको आवश्यकता ।
रक्सीको लत लागेको आफ्नो भाइ रामलाई सुधार्न पनि हुलाकको जागिर एउटा वहाना हुने भएपछि ठूल्दाइ (हाकिम)ले उनलाई जागिर गर्न कर गर्छन् ।
मन नलागे पनि रामले हुलाकीको जागिर गर्छ । र, झोलामा चिठी बोकेर गाउँतिर उक्लिन्छ । रक्सीको लत लागिसकेको रामलाई तलतल मेटाउन भए पनि अलिकति पिउनैपर्ने हुन्छ । त्यहीबीच कथाले नयाँ मोड लिन्छ । जागिरको पहिलो दिन नै राम ठूलो अफ्प्ठेरोमा पर्छ ।
त्यही बीचमा गाउँ उक्लिरहँदा रामको भेट मियाँ (विनिता थापामगर) सँग हुन्छ । मियाँको श्रीमान कमाउन भनेर विदेश गएका छन् । लामो समयदेखि मियाँको श्रीमानले उनलाई चिठी लेखेका छैनन् । एक हिसाबले भन्ने हो भने मियाँले श्रीमानको माया मारिसकेकी छन् । जब राम हुलाकी भएको थाहा पाउँछिन्, मियाँले आफ्नो नाममा चिठी आए/नआएको सोध्छिन् ।
राम र मियाँ आपसमा नजिकिने भनेकै चिठीको कारणले हो र यी दुईबीच द्वन्द्व निम्त्याउने मूल कारण पनि चिठी नै हो ।
फिल्मको प्रभाव
एउटा चिठीले व्यक्ति, परिवार र समाजमा कस्तो असर गर्न सक्छ ? भन्ने कुरालाई फिल्म हल्कारामा प्रस्तुत गरिएको छ । सामान्य किस्साको कथामार्फत समाजका अनेक आयामलाई कसरी जोड्न सकिन्छ भन्ने फिल्म हल्काराले देखाउँछ ।
निर्माण पूरा भएको लामो समयसम्म विदेशी फेस्टिभलमा प्रदर्शन भएर नेपाली हलमा आएको हल्कारा दर्शकको लागि नौलो स्वाद हुन सक्छ । पछिल्लो पुस्ताका दर्शकका लागि हल्कारा ऐतिहासिक दस्तावेज हो भन्दा फरक नपर्ला । र, हुलाकको जमाना भोगेका दर्शकको लागि यो फिल्म ‘मिठो सम्झना’ ।
फिल्म हेरिरहँदा दर्शक ५० को दशकमै पुग्छन् । पछिल्लो पुस्ताका दर्शकले त्यो बेलाको नेपाली समाज मज्जाले अनुभव गर्न पाउँछन् । त्यो समय देखेका दर्शकले पनि आफूलाई त्यही बेलाको समाजमा पाउँछन् ।
मुलधारे नेपाली सिनेमा जस्तो ‘चटपटे डाइलग’ र ‘फास्ट कटिङ’ दृश्यहरू यो फिल्ममा छैनन् । त्यसैले दर्शकका लागि फिल्म ‘स्लो’ लाग्न सक्छ ।
कथावाचन शैलीमा अपनाइएको निर्देशकीय ‘टेक्निक’ले गर्दा फिल्म लयभन्दा बाहिर गएको अनुभूति पनि दर्शकले गर्छन् । र, सबैभन्दा महत्त्वपूर्ण कुरा, राम र मियाँबीचको सम्बन्ध कस्तो हो ? भन्ने कुरा दर्शकलाई छुट्याउन मुश्किल हुन्छ । त्यसैले प्रिमियरमा पनि यो फिल्मले मिश्रित प्रतिक्रिया पायो ।
विदेशी फिल्म फेस्टिभलमा भने नेपाली परिवेशको यो कथालाई निकै रुचाइएको थियो । त्यसैले यो फिल्ममार्फत अभिनेता महेश त्रिपाठीले ५५ औं ‘वल्र्डफेस्ट हस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा अभिनेतातर्फ ‘रेमी अवार्ड’ प्राप्त गरे । जुन अवार्ड पाउने दक्षिण एशियाकै पहिलो अभिनेता हुन् त्रिपाठी ।
त्यस्तै फिल्मका छायाँकार चिन्तन राजभण्डारीले पनि सिनेमाटोग्राफर विधामा रेमी अवार्ड प्राप्त गरे । रोधे आइल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभलको उपविजेता र नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट लङ्ग न्यारेटिभ अवार्ड’ प्राप्त गर्न पनि फिल्म सफल रह्यो ।
समानान्तर नेपाली फिल्मको कथावाचन शैलीभन्दा हल्कारामा निर्देशकले फरक शैली अपनाएका छन् । त्यसैले पनि दर्शकलाई यो शैलीको कथावाचन नौलो लाग्न सक्छ ।
चिन्तन राजभण्डारीले निर्देशकको कथावाचन अनुसार नै छायाँकन गरेका छन् । निर्देशक आफैंले सम्पादन गरेकोले फिल्म सकेसम्म ‘फेस्टिभल ओरियन्टेड’ जस्तो लाग्छ । र्यान गोत्सालको सुपरभिजनमा ब्रुनो वालेन्टीले संगीत कथाअनुसार मिलेको लाग्छ । तत्कालीन नेपाली समाजको परिवेश दर्शकलाई महसुस गराउन संगीतको माध्यमबाट पनि यसका संगीतकारले मिहिनेत गरेका छन् ।
फिल्म हल्कारालाई कालिपार स्टुडियो र आइसफल प्रोडक्शनले सँयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा महेश, विनिता, दीपकसँगै प्रकाश दाहाल, विद्या कार्की, रोशनी कार्की, शारदा गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।