News Griha :: न्यूजगृह
कलाकर्मीलाई सम्मान गर्दै उपराष्ट्रपतिले भने– चलचित्र समाजको ऐना हो

काठमाडौं— काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा कलाकर्मीलाई पुरस्कृत गरे ।

तीन वर्षदेखि रोकिएको अवार्ड समारोहमा कलाकर्मीलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको उपराष्ट्रपति यादवले बताए ।

‘यो क्षेत्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभई हाम्रो मौलिक भाषा, भेषभूषा, संस्कृति, इतिहासको संरक्षण र सम्वर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवले भने,‘सीमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाइ हाम्रो लागि गौरवको विषय हो किनकि चलचित्र हाम्रो समाजको ऐना हो ।’

उनले समारोहमा दुई पाका प्राविधिकलाई दीर्घसाधना सम्मान प्रदान गरे । समारोहमा भान्छा व्यवस्थापक जेठा दाइका उपनामले परिचित कुलबहादुर महत र शृङ्गारकर्ता सन्तु तामाङलाई नगद राशि एकाउन्न हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

अवार्ड आयोजक दिनेश डिसीले पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्त्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले सम्मान गरिएको बताए ।

समारोहमा क्याराभान र हनी हन्टर चलचित्रका फ्रान्सेली निर्देशक एरिक भ्याली, निर्देशक निश्चल बस्नेत, निर्माता सन्तोष सेनसँगै कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई’ ट्रेण्डसेटर अवार्ड’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २१:५९
Weather Update