
काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रूप दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता भएको छ ।
विभिन्न खेलका पूर्वाधार निर्माण गर्ने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदानगर्ने विषयमा राखेप र नगरपालिकाबीच बिहीबार द्विपक्षीय सम्झौता भएको हो । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी, भलिबल र बक्सिङको पूर्वाधार निर्माणका लागि उक्त खेलका राष्ट्रिय संघसँग जग्गाउपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्नेछ । बक्सिङका लागि वडा ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमति भएको छ ।
राखेप सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसँग पनि समन्वय गरी श्रोत जुटाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा सदस्य–सचिवलाई धन्यवाद दिँदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजना अनुरूप नगरपालिकामा भएका जग्गालाई अधिकतम खेलकुदका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेलकुदको माध्यमबाट चिनाउन नगरपालिकालाई खेलकुद नगरीका रूपमा विकास गर्ने योजना रहेको बताउदै सम्झौता ऐतिहासिक भएको उल्लेख गरे ।