News Griha :: न्यूजगृह
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं— नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।

नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता ५ जेठसम्म जङ्गीअडस्थित टेनिस कोर्ट तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।

२०६८ सालबाट मकवानपुर टेनिस सङ्घको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड–१९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहत् र परिस्कृतरूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २०:४३
Weather Update