
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जितसँगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।
त्यस्तै बुधबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा फर्किएको छ । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो ।
मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । चर्च ब्वाइज ३० अंकसहित शीर्ष स्थानमा छ भने थ्रीस्टारको २५ सहित तालिकाको चौथो स्थानमा छ ।