
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए ।
यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।
यसैगरी दशरथ रङ्गशालामा मंगलबार भएको अर्को खेलमा थ्रीस्टार क्लबले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । यस खेलसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ ।
थ्रीस्टारको १६ खेलमा २५ अङ्क छ । यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२औं स्थानमा छ ।