
काठमाडौं— सेन्सर बोर्डले फिल्म ‘काँडेतार’लाई अहिलेकै स्थितिमा पास गर्न नसकिने बताएपछि फिल्मका निर्देशक तथा अभिनेता नवल खड्का तनावमा छन् । बोर्डले भनेजसरी दृश्य हटाउँदा फिल्मको ‘स्टोरीलाइन’ नै बिग्रने र फिल्म अपूरो हुने निर्माण पक्षको तर्क छ ।
तर, यथास्थितिमै फिल्मलाई हलमा ल्याउँदा नेपाल–भारत सम्बन्धमा खलल आउन सक्ने भन्दै बोर्ड आफ्नो निर्णयमा ‘टसमस’ भएको छैन ।
११ वैशाखमा फिल्म काँडेतारले प्रर्दशन स्वीकृतिका लागि सेन्सर बोर्डका प्रतिनिधिहरूलाई फिल्म देखाएको थियो । सोही दिन सेन्सर बोर्डका प्रतिनिधिहरूले फिल्म हेरेपछि त्यसमा समावेश केही दृश्य र संवादलाई हटाए मात्रै प्रदर्शन अनुमति दिन सकिने बताएको थियो । ‘फिल्ममा केही दृश्य र संवादले नेपाल भारत सम्बन्धमा खलल ल्याउनसक्ने देखेपछि यथास्थितिमै काँडेतार नामक फिल्मलाई प्रदर्शन अनुमति दिन नसकिने भएको हो,’ सञ्चार मन्त्रालयमातहतको सेन्सर बोर्डले भनेको छ ।
फिल्म निर्देशक तथा अभिनेता नवल खड्काले भने सेन्सर बोर्डले भनेजसरी फिल्मबाट दृश्य र संवादहरू हटाउँदा फिल्मको प्राण नै सकिने बताउँछन् । ‘अभिव्यक्ति स्वतन्त्रताको कानुनी अधिकार भएको मुलुकमा सरकारी संयन्त्रले फिल्ममाथि यसरी हस्तक्षेप गर्नु राम्रो कुरा होइन ।’ खड्काले न्यूजगृहसँग भने, ‘सेन्सर बोर्डले नियोजित रूपमै हामीमाथि प्रदर्शन स्वीकृति दिन नखोजेको हामीले पाएका छौँ ।’
बोर्डको विरोधमा राजनीतिक दलका नेता :
फिल्म काँडेतारलाई प्रदर्शनका लागि अनुमति नदिएर सेन्सर बोर्डले अनुचित कार्य गरेको एमाले नेता भीम रावलले भनेका छन् । काँडेतार नेपालको राष्ट्रियतामाथि बनेको गज्जबको फिल्म भएको प्रतिक्रिया दिँदै राज्यले यसलाई विशेष फिल्म मानेर प्रदर्शन गर्न दिनुपर्ने उनले बताए ।
उनले भने, ‘यो सबै नेपालीहरूले हेर्नुपर्ने फिल्म हो । र, सरकारले पनि यो फिल्मलाई प्राथमिकतामा राखेर प्रदर्शन अनुमति दिनुपर्नेमा झन् उल्टो सेन्सर पास नै नदिने कुरा कदापी सही होइन ।’ रावलले देशभक्तिको कथा बोल्ने यस्तो खालको फिल्मलाई सेन्सर बोर्डले हलमा प्रदर्शनका लागि स्वीकृति नदिएपनि खुला चौरमार्फत पब्लिक शो गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फिल्म काँडेतारको प्रदर्शन अनुमति नदिएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताए । ‘राष्ट्रिय सवालमा देशभक्ति बोकेका यस्ता फिल्महरू बन्न जरुरी छ । काँडेतार यूनिटले राष्ट्रियताको सवालमा ठूलो हिम्मत गरेको छ । राज्यले यो फिल्मको सेन्सर रोकेर गलत गरेको छ,’ सांसदसमेत रहेका शाहीले भने ।
सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन गर्नका लागि अनुमति नदिएको विरोधमा फिल्म काँडेतार युनिटले मङ्गलबार काठमाडौंमा विशेष कार्यक्रम गरी विरोध जनाएको छ । सोही कार्यक्रममा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले काँडेतार जस्ता फिल्मलाई राज्यले नै प्रदर्शन अनुमति नदिनु दुखद् भएको बताए । ‘राष्ट्रियताको पक्षमा बनेको फिल्मलाई राज्यले किन अंकुश लगाउँछ ? यो अहिलेमात्र होइन, पहिल्यैदेखि हुँदै आएको छ,’ उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको सवालमा राज्य सँधै अनुदार हुँदै आएको इतिहास छ ।’
अब के हुन्छ ?
निर्देशक तथा अभिनेता नवल खड्काका अनुसार काँडेतार नेपाल भारत सीमाको विषयमा बनेको फिल्म हो । खुला सीमाका कारण भइरहेको अपराध, नागरिकमाथिको अत्याचारविरुद्धको प्रतिरोधमा आधारित फिल्ममा नेपाली भूमि हडप्न भारतीय पक्षले गरेको दमनसम्बन्धी प्रसङ्ग पनि रहेको उनले बताए ।
निर्माण पूरा भएको लामो समयसम्म प्रदर्शन हुन नसकेको फिल्म काँडेतार पछिल्लोपटक प्रदर्शनका लागि प्रचारप्रसारमा जुटिसकेको थियो । ३ हप्ता अगाडि मात्रै फिल्ममा समावेश काँडेतारको शीर्ष गीत निर्माण युनिटले युट्युबमार्फत सार्वजनिक गरेको थियो । त्यस्तै फिल्मको ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।
‘लकडाउनलगायत विविध कारणले फिल्म प्रदर्शन हुन नसक्दा हामी आर्थिक रूपमा यसै पनि समस्यामा छौँ । त्यसैमाथि फिल्मको प्रदर्शन अनुमति नदिएर सेन्सर बोर्डले झन् अन्यौलता थपिदिएको छ,’ निर्देशक खड्काले भने, ‘हामी निकै समस्यामा छौँ ।’
निर्देशक तथा अभिनेता खड्काले आफूहरू जुनसुकै हालतमा अहिलेकै स्थितिमा फिल्म प्रदर्शन गर्नेगरी लागेको बताए ।
निर्देशन र अभिनयसँगै फिल्मको कथा पनि नवल आफैँले लेखेका हुन् । फिल्ममा उनीसँगै अभिनेत्री सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, मुरलीधर, प्रेम सुब्बा लगायत कलाकारको अभिनय छ । फिल्मलाई सौरभ लामाले छायाङ्कन गरेका हुन् ।