
काठमाडौं— रेलिगेशन क्षेत्रको विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ८ पटकको शहीद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मनाङलाई २–२ गोलको बराबरीमा रोकेको हो । निकै रोमाञ्चक बनेको खेलमा पुलिसले मनाङले लिएको अग्रतालाई रोक्दै अंक खोस्न सफल भएको हो ।
मनाङका लागि रोशन राना मगर र शहीद अजिजले गोल गर्दा पुलिसका लागि दुवै गोल अहमद हिजाजीले गरे । खराब लयबाट गुज्रिरहेको पुलिसले खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हिजाजीको गोलबाट लिएको थियो । उनले मोसेसको पासमा हिजाजीले पेनाल्टी बक्स भित्रबाट आकर्षक गोल गर्न सफल भएका थिए ।
हिजाजीको पासमा पेनाल्टी बक्स भित्रबाट मोसेजको प्रहार बार माथिबाट बाहिरिँदा पुलिसले अग्रता दोब्बर बनाउने अवसर गुमायो । ३३ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई बारबरीमा ल्याए । ४४ औं मिनेटमा जमोलले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर शत्रुधनले पञ्च गर्दै बाहिर पठाएपछि ४५ औं मिनेटमा अजिजले मनाङलाई २–१ ले अगाडी बढाए ।
अजिजले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा हानेको प्रहारले सिधै जाली चुमेको थियो । त्यसपछि रोमाञ्चक बनेको दोस्रो हाफको ७१ औं मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–२ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोलका लागि प्रयास भए पनि गोल हुन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भए ।
८२ औं मिनेटमा २५ यार्डबाट मनाङका विसोन गुरुङको लामो प्रहार गोलकिपर शत्रुधनले पञ्च गर्दै बाहिर पठाएर पुलिसको संकट टारेका थिए । यससँगै जारी लिगमा मनाङविरुद्ध पुलिसले अपराजित यात्रा कायम राखेको छ । पहिलो लेगमा पुलिसले १–० को जित निकालेको थियो ।
शहीद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले २–२ को बराबरी खेलेका छन् । बराबरीसँग मनाङ १६ खेलमा १४ खेलमा पाँच जित, पाँच बराबरी र ६ हारको नतिजासहित २० अंक जोडेर आठौं स्थानमा छ ।
पुलिस समान खेलमा चार जित, चार बराबरी र आठ हारको नतिजासहित १६ अंकका साथ पुछारमा छ । लिग अन्तर्गत सोमबार नै भएको अर्को खेलमा ललितपुरे टोली फ्रेण्ड्सले खुमलटार युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई तथा सन्तोष खत्रीले एक गोल गरे भने खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए । यससँगै फ्रेण्ड्सले १६ खेलबाट १९ अंक बनाएको छ भने खुमलटारको १६ खेलबाट १७ अंक छ ।