
काठमाडौं— नक्कली कागजात पेस गरेर नेपालको नागरिकता लिने भारतीय नागरिकहरू आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने आशंका नेपाल प्रहरीले गरेको छ ।
नेपालमा व्यवसाय गर्न नागरिकता लिएको बताएपनि यी आरोपितहरूको संलग्नता गैरकानुनी तथा आपराधिक कार्यहरूमा पनि हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले न्यूजगृहलाई बताए । भन्छन्, ‘अहिले केही भन्न सकिन्न, अनुसन्धानबाट थाहा हुनेछ । व्यापारको आडमा उनीहरू आपराधिक गतिविधिमा संलग्न छन् भन्ने आशंका छ ।’
शनिबार काठमाडौंको शङ्खमुल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट अपराध अनुसन्धान कार्यालयले १० जना नक्कली कागजात पेस गर्ने भारतीय नागरिकहरूलाई गिरफ्तार गरेको थियो । आइतबार उनीहरूलाई प्रहरीले बरामद प्रमाणसहित सार्वजनिक गरेको हो । नक्कली नागरिकता लिने व्यक्तिहरू मूलतः भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरू रहेको बताइएको छ । उनीहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता लिएको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट भरतप्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, काठमाडौंमा बसाइँसराइ भएको प्रमाणपत्र, भारतीय राजदूतावास भारतीय नागरिक भएको सिफारिसपत्र प्रहरीले बरामद गरेको छ । यस्तै, उनीहरूबाटै प्रहरीले भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतको मतदाता सूचीमा रंगिन फोटोसहित नामावली भएको, भारतीय आधार कार्डलगायत कागजातहरू प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूबाट सात नेपाली नागरिकताको प्रमाणपत्र, पाँच मतदाता परिचयपत्र र नौवटा मोबाइल पनि प्रहरीले फेला परेको छ ।
गिरोहमा परिवार नै संलग्न
यति मात्र होइन, घटनालाई छिटपुट नभइ भइरहेको आपराधिक घटनाक्रमसँग जोडेर ट्रेनडको रूपमा हेर्नुपर्ने प्रहरीले बताएको छ । करिब साढे तीन महिना लगाएर गरेको अनुसन्धानले नक्कली नागरिकता लिनेहरू दुई परिवारका सदस्यहरू रहेकोसमेत अनुसन्धानबाट खुलेको छ । उनीहरूले वंशजको आधारमा नै नागरिकता लिएको देखिन्छ । यसको लागि प्रहरीले नागरिकता लिएको शंकास्पद जिल्लाहरूमा एकैपटक अनुसन्धान गरेको थियो । जसको आधारमा भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको हो ।
भारतीय नागरिक शिवशंकर गुप्ता/फुलमती गुप्ता भारतमै बस्छन् । तर, उनीहरूको चार सन्तानमध्ये दुईले नेपाल र भारत दुवैबाट नागरिकता लिएका छन् भने दुई छोरा भारतमै बस्छन् । बिहार घर भइ हाल नेपाल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता (बब्लु) र ५० वर्षीया ज्ञानमती देवी गुप्ताले सिरहाबाट क्रमशः २०६३ र २०६८ मा जन्मको आधारमा र वैवाहिक अंगीकृतको आधारमा नागरिकता लिएको देखिन्छ । भरतकै छोरा एवम् शिवशंकरका नाति राहुल र रोहितले क्रमशः वंशजको आधारमा नागरिकता लिएको देखिन्छ । राहुलले त २०७१ मा नेपाली राहदानीसमेत लिएका छन् ।
यसैगरी शिवशंकरका अन्य दुई छोराहरू मोहन गुप्ता र मुरारी गुप्ता भारतमा बस्छन् । जसमा मोहनका दुई छोरा तथा बुहारीले रामसुन्दरले पर्साबाट र रामप्रवेश/प्रियंकाले रुपन्देहीबाट २०६३ मा नेपाली नागरिकता लिएको देखिन्छ । यसरी शिवशंकरको एकै परिवारको छोराबुहारी र नातिहरू गरेर छजनाले नेपाली नागरिकता लिएको देखिन्छ । मोहनका अर्का दुई सन्तानले पनि पर्सा र रुपन्देहीबाट नागरिकता लिएको बताइएको छ । तर, उनीहरूले नागरिकता लिएको हो कि होइन त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भारतको बिहार नै बस्ने विश्वप्रसाद गुप्ताका दुई सन्तानमध्ये महेश प्रसाद गुप्ता र रमेश गुप्ताका सन्तानहरूले पनि नक्कली प्रमाणपत्र पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ । बागबजार बस्ने महेशप्रसादका चार छोरा एवम् बुहारी राजेशकुमार गुप्ताले बाराबाट जन्मको आधारमा र ४९ वर्षीया मिनदेवी गुप्ताले वंशजको आधारमा नागरिकता लिएको देखिन्छ ।
कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ताले जन्मको आधारमा २०६३ मा बाराबाट र रामेश्वर प्रसाद गुप्ताको छोरी एवम् भरतकी पत्नी ४२ वर्षीया स्नेहलता गुप्ताले वंशजको आधारमा २०६९ मा नेपाली नागरिकता लिएको देखिन्छ । यस्तै, महेशकी छोरी विजयलता २०६७ मा नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । यति मात्र होइन, विजयलताको पति राजेश कुमार गुप्ताले पनि झापाबाट २०४६ मै नेपाली नागरिकता पाएको देखिन्छ ।
पति पत्नी भरत र स्नेहलताको दुई सन्तान छोरी आँचल र छोरा आदित्य भारतमा नै बस्छन् भने राजेशका तीन सन्तानमध्ये आरती कंलकीमा मिठाइ पसल सञ्चालन गरी बसेकी छन् । छोरा रोहित र अञ्जलीको बारेमा भने प्रहरीले जानकारी दिएको छैन । रमेश गुप्ताका तीन सन्तान र एक बुहारी शत्रुधन/विन्दु र नाम नखुलाइएको तर रुपन्देहीबाट नागरिकता जारी भएको र अर्को एक सन्तानको नागरिकताबारे अनुसन्धान भइरहेको छ । यसरी विश्वनाथप्रसादको परिवारको छोराबहारी, छोरी ज्वाइँ गरी छजनासँग नेपाली नागरिकता र बाँकी तीनजना नाति नातिनासँग नेपाली नागरिकता भए नभएबारे अनुसन्धान भइरहेको छ ।
आरोपितहरूले ३० वर्षदेखि नेपालमा बसोबास गरेको भनेपनि उनीहरू करिब १०–१२ वर्षदेखि मात्रै नेपाल बस्दै आएको र त्यो पनि पूरै समय नेपाल नबस्ने गरेको एसएसपी केसीले बताएका छन् । भन्छन्, ‘नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसाय गरेको देखिन्छ । धेरैको मिठाइ पसल छ ।’
यो पनि पढ्नुहोस