
काठमाडौं— नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता दिएको बताए ।
उनले भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए । पक्राउ पर्नेमा भारत बिहार घर भइ काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको एसएसपी मनोज केसीले जानकारी दिए । यस्तै, बिहार नै घर भइ ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता पक्राउ परेको उनले बताए ।
एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौंको शङ्खमुल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए । उनीहरूले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको केसीले बताए । उनले भारतीयहरूले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गर्दै आएको भेटिएको बताए । उनले प्रहरीले एउटै प्याटर्नमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको बताए ।