
पोखरा— पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु भएको छ ।
दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता सुरु भएको हाे ।
हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
आयोजक संस्थाका अनुसार शनिबार फेवातालमा ३८ किमी लामो पौडीबाट सो प्रतियोगिता सुरु हुनेछ भने लगतै १७५ किमी साइकल दौड सुरु हुनेछ ।
पोखरा लेकसाइडबाट सुरु हुने सो साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुन: फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाइएको छ । सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड सुरु हुनेछ । काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यु पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।
सो प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घण्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन् भने प्रतियोगितामा करिब १ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ ।