काठमाडौं— पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सलेट्रफिसहित एक करोड दश लाख रुपैयाँ प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको हो ।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाख रुपैयाँको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल साहलाई प्रदान गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख रुपैयाँको चेक प्रदान गरे। तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तातरण गरे।