News Griha :: न्यूजगृह
आज एनपीएल फाइनल: सुदूरपश्चिम र जनकपुरमध्ये कसको पल्लाभारी?

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिष्पर्धा गर्दै छन्।

सुदूरपश्चिम र जनकपुर एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजेदेखि फाइनल खेल सुरु हुनेछ। दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनलमा दर्शकको उपस्थिति बाक्लो हुनेमा दुईमत छैन।

यसबाहेक मैदानभित्रको प्रतिष्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। लिग खेल बीचतिर आइपुग्दा नै सुदूरपश्चिम र जनकपुरलाई स्वाभाविक रूपमा उपाधिको दावेदारका रूपमा हेरिएको थियो। दुवैले सोहीअनुरूप प्रदर्शन पनि गरे।

उपाधि भिडन्तअगाडि नै सुदूरपश्चिम र जनकपुरबीच दुईपल्ट प्रतिष्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो। ती दुवै खेलमा सुदूरपश्चिम जनकपुरमाथि पूर्णतः हावी भयो।  

सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिबार आमनेसामने हुँदै छन्।

यसपल्ट पनि सुदूरपश्चिमलाई बलियो दावेदारका रूपमा हेरिएको छ तर फाइनलमा दुवै टोलीमाथि दबाब हुने भएकाले यसअघिकै नतिजा नदोहोरिन सक्छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारेका छन्। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताएका छन्।

दीपेन्द्रले जित या हारभन्दा पनि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए। पिचको अवस्था अनुरूप ब्याटिङ गर्ने योजना हुने उनको भनाइ छ।

जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे। 

पावरप्लेमा राम्रो सुरुआत गरेर ब्याटिङलाई सहजता दिने उनको भनाइ छ। मैदानमा जसले थोरै गल्ती गर्छ त्यसको जित सम्भव हुने उल्लेख गर्दै आसिफले फाइनलमा यसअघि भएका गल्ती कम गर्ने बताएका छन्। 

पछिल्ला ४ खेल हारे पनि त्यसलाई बिर्सेर भोलिको फाइनलमा टिमले खेल्ने उनको विश्वास छ। जनकपुरको सबैभन्दा कमजोर पक्ष अहिले शीर्ष क्रमका ब्याटरले राम्रो शुरुआत दिन नसक्नु हो। 

दोस्रो क्वालिफायरमा पनि कर्णाली याक्सविरुद्ध शीर्ष क्रमका ब्याटर ब्याटिङमा चल्न नसक्दा जनकपुर हारको संघारमा पुगेको थियो। तर जिमी निसमको बलियो साथपछि जनकपुर उपाधि भिडन्त तय गर्न सफल भयो। 

ब्याटिङ लयमा नहुँदा पछिल्ला खेलमा जिमीकै साथले जनकपुर यहाँसम्म पुगेको हो भन्दा फरक पर्ने छैन तर बलिङमा भने जनकपुर बलियो छ। 

स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर किशोर महतो उत्कृष्ट लयमा छन्‚ जुन सुदूरपश्चिमका लागि चुनौती बन्नेछ। यता, सुदूरपश्चिमको भने ब्याटिङ र बलिङ दुवै सन्तुलित नै छ। स्कट कुग्गेलिन र हरमित सिंह सुदूरपश्चिमको धारिला बलिङ हतियार हुन्।

ब्याटिङ भने कुनै एक खेलाडीले ठूलो इनिङ खेल्न नसके पनि सबैले योगदान दिँदा सुदूरपश्चिमका लागि सहज बनेको छ भने फिनिसिङका लागि दीपेन्द्र आफैँ उत्रिने गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०५:५६
Weather Update