News Griha :: न्यूजगृह
नेफ्टा चलचित्र अवार्ड साउनमा

काठमाडौं— आगामी १३ जेठमा हुने भनिएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।

अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण ६ साउनमा हुने सङ्घले जानकारी दिएको छ ।

‘हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ । नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत् र सफल तुल्याउन सजिलो हुनेछ’, नेफ्टा अध्यक्ष पुस्कर लामाले भने ।

नयाँ तालिकाअनुसार आगामी ३१ वैशाखमा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गरिनेछ । ‘उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनु हुनेछ । हामी अवार्डलाई भव्य रूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ’,अध्यक्ष लामाले भने ।

उनका अनुसार वि.सं २०७९ भित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित यूएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २१:४०
Weather Update