News Griha :: न्यूजगृह
यू-१९ एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं— एसीसी महिला यू-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको हो । 

नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । त्यस्तै एलिशाकुमारी यादवले भने ९ बलमा ४ चौकासहित २० रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि परुनिका सिसोदियाले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै मिथिला भी र आनन्दिता किशोरले १/१ विकेट लिए ।

नेपाल यसअघि १ खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ । सोमबार नेपालले पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित हासिल गरेको छ । महिला क्रिकेटको कुनै पनि समूहमा नेपालले टेस्ट राष्ट्रको टोलीलाई हराएको यो पहिलो पटक हो ।

पाकिस्तानमाथिको जितपछि यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन् । पाकिस्तान र नेपालसहित भारत समूह ‘ए’ मा रहेको छ । पाकिस्तान अघिल्लो दिन भारतसँग ९ विकेटले पराजित भएको अवस्थामा नेपालले निर्णायक मानिएको खेलमा बाजी मार्दै सोझै सेमिफाइनल तय गरेको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १४:१५
Weather Update