काठमाडौं— सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सविरुद्धको खेल जित्न १ सय २ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली याक्स सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि १ सय १ रनमा अलआउट भयो ।
सुदूरपश्चिमले यो खेल १२.२ ओभरमा पूरा गर्यो भने कर्णाली प्लेअफ दौडबाट बाहिरिने छ र कर्णालीसँगैं समान ८ अंक बोकेको काठमान्डु गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा छिर्नेछ । सुदूरपश्चिमको जितले टोलीको क्वालिफायर्स १ मा स्थान निश्चित हुनेछ ।
हरमित सिंहले ३ विकेट लिए । अन्तिम ओभरमा नन्दन यादव र विपिन शर्मालाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चे । कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट सैफ जैबको नाममा रहयो ।
जेसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बल खेलि ४ चौका प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा १६, बाबर हायत ९ बलमा १३, चाडविक वाल्टन र कप्तान सोमपाल कामी समान ११, देव खनाल ७, गुलशन झा २ रन र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रित गौतम शून्यमा आउट भए ।
प्लेअफ र क्वालिफायर्स १ को समीकरणको हिसाबमा दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण रहेकाले सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक हिसाबमै शीर्ष टोली बनेर क्वालिफायर्स १ मा पुग्ने छ । ६ खेलमा ५ खेल जितेर १० अंकका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको कर्णालीसँगको यस खेल अघि नै शीर्ष २ टोली भित्र पर्ने निश्चित जस्तै छ ।
पहिलो दुई खेल हारेको कर्णालीले त्यसपछि चार खेल जितेर ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ, त्यसमा शीर्ष दुई टोली फाइनल पुग्न क्वालिफायर्स १ मा भिड्ने छन् भने तेस्रो र चौथो हुने टोली इलिमिनेटरमा खेल्ने छन् ।
सुदूरपश्चिममाथि विजय हात पारे कर्णाली शीर्ष दुई भित्र परेर क्वालिफायर्स १ मा पुग्ने सम्भावना पनि रहेको छ । चितवन राइनोज, कर्णाली र काठमान्डु गुर्खाजको समान ८ अंक छ । राम्रो रन रेट भएको कारण चितवन तेस्रो टोलीको रुपमा प्लेअफमा पुगिसकेको छ ।