काठमाडौं — चितवन राइनोज र काठमाडौं गुर्खाज शनिबार विजयी भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा सुरक्षित हुन तीन स्थानका लागि चार टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक स्थितिमा पुगेको छ ।
सशक्त ब्याटिङ प्रदर्शन गरेको चितवनले शीर्षस्थानको जनकपुर बोल्ट्सलाई ३२ रन र गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । राउन्ड रोबिन लिगको ३ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुर १० अंकसहित शीर्षस्थानमा यथावत् छ ।
प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काल गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरू टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । चितवनले विजयसँगै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । आफ्नो सबै ७ खेल खेलिसकेको चितवनसँग ८ अंक छ ।
सुदूरपश्चिम रोयल्सहित चितवन र कर्णाली याक्स समान ८ अंक लिएर क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन् । गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको जितले विराटनगर किंग्स र पोखरा प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् । १–१ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै टोलीको ४–४ अंक छ । गुर्खाजले आइतबार विराटनगर र सुदूरपश्चिमले पोखरासँग खेल्नेछ । शीर्ष चारमा रहेर प्लेअफमा पुग्न गुर्खाजलाई यो खेल जित्नैपर्छ ।
सुदूरपश्चिमले दुईमध्ये एक खेल जितेमा पनि शीर्ष टोली बन्ने निश्चितजस्तै हुनेछ । कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईभित्र पनि पर्न सक्छ । अन्यथा कम्तीमा शीर्ष चारमा स्थान निश्चित हुनेछ । तर, कर्णाली आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएमा टोलीलाई गुर्खाजले उछिन्ने सम्भावना रहन्छ ।