काठमाडौं — लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ।
आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो। चार खेलमा सुदूरको यो पहिलो हार हो।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो।
जितपछि चितवनले पनि सुदूरपश्चिमसँगै समान ४ खेलबाट ६ अंक नै जोडेको छ। सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो।
उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो।
यसअघिका तीन खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध भने लयमा देखिएन।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।