काठमाडौं — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि सात रनको रोमाञ्चक जित निकालेको छ। चार खेलमा कर्णालीले दोस्रो जित निकालेको हो। विराटनगर भने तीन खेलमा पराजित भइसकेको छ।
कर्णालीले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ८ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो।
विराटनगरले राम्रो ओपनिङ गर्न सकेन। ओपनिङ ब्याटर मार्टिन गप्टिल दोस्रो ओभरमा विपिन शर्माको बलमा चार रनमै आउट भए। अर्का ओपनर लोकेश बमलाई पनि १९ रनमा विपिनले नै आउट गरे।
त्यसपछि अकिब इल्यास आठ रन र नरेन भट्ट सात रनमा आउट भए। इल्यासलाई नन्दन यादवले बोल्ड गर्दा नरेन विलियम बोसिस्टोको एलबिडब्लूको धरापमा परे। बसिर अहमदलाई युनिस ठकुरीले ८ रनमा आउट गरे।
१८औं ओभरमा नन्दन यादवले दुई विकेट लिन सफल भए। उनले निकोलास किर्टोनलाई ४० रन र दीपक बोहरालाई १८ रनमा बोल्ड गरे। १९औं ओभरको दोस्रो बलमा सोपमाल कामीले क्रिस सोललाई शून्यमा पेभिलियन फर्काए।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चााहिएको थियो। ब्याटिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी थिए। कर्णालीका लागि नन्दन यादवले बलिङ गरेका थिए। जसमा पहिलो बलमा सन्दीपले एक रन लिए। दोस्रो बलमा प्रतिशले दुई रन लिन सके। तेस्रो बलमा पनि दुई रन नै लिए। चौथो बल डट भयो। पाँचौ बलमा प्रतिशले एक रन लिए। अन्तिम बलमा सन्दीपले एक रन लिँदा खेल कर्णालीले सात रनले जित्यो।
बलिङमा कर्णालीका नन्दनले चार ओभरमा तीन विकेट लिँदा १९ रन खर्चिए। विपिन शर्माले दुई विकेट लिए भने कप्तान सोमपाल कामी बोसिस्टो र युनिस ठकुरीले एक एक विकेट लिए। टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले देव खनाल र विलियम बोसिस्टोको अर्धशतक जोडे पनि कर्णाली २० ओभरमा १३३ रनमा अलआउट भयो। कर्णालीलाई सस्तोमा रोक्ने क्रममा विराटनगरका प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए।
देवले ५३ रन जोड्दा बोसिस्टोले ६६ रन बनाए। देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्क प्रहार गरे। त्यसअघि ओनपर शिखर धवन भने ५ रनमा आउट भए। उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरे। त्यसअघि उनले १ चौका प्रहार गरे।
यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए। उनले काठमाडौं गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए। कम्तिमा चार खेल खेल्न कर्णालीसँग सम्झौता गरेका भारतीय राष्ट्रिय टोलीका पूर्व ओपनर धनवले चार खेलमा १३६ रन जोड्न सके।
धनव आउट भएपछि अर्को ओभरमा चाडविक वाल्टन १ रनमा क्रिस सोलको बलमा आउट भए। त्यसपछि देव र बोसिस्टोले कर्णालीको इनिङ्ग्स सम्हालेका थिए। दुईबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो। १६औं ओभरमा बसिरको बलमा देव आउट भएपछि अर्को ओभरमा कर्णालीका अर्जुन घर्ती अकिब इल्यासबाट १ रनमा बोल्ड भए।
बोसिस्टो १९औं ओभरको अन्तिम बलमा क्रिस सोलको एलबिडब्लूको धरापमा परेका थिए। अन्तिम ओभरको पहिलो बलमा जिशन मक्सुदलाई प्रतिश जिसीले २ रनमा बसिर अहमदबाट क्याच गराए। तीन बलपछि नन्दन यादव एलबिडब्लूको धरापमा पर्दा अर्को बलमा युनिस ठकुरी रनटआउट भए। अन्तिम बलमा प्रतिशले विपिन शर्मालाई पनि क्याच गराए।
अन्तिम ओभरमा प्रतिशले तीन विकेट लिँदा रन दिएनन्। कर्णालीले अन्तिम ओभरमा एक रनआउटसहित चार विकेट गुमायो। अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले सात बलको अन्तरमा पाँच विकेट गुमायो।बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने फेरि विकेटविहीन बने। उनले एनपिएलको चार खेलमा एक विकेट मात्र लिन सकेका छन्।