News Griha :: न्यूजगृह
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागहरू लगायत बाँकी तराईका भूभागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सुकुहिरो लागेको छ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।शनिबार राति  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा राति  हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०६:४१
Weather Update