News Griha :: न्यूजगृह
आइतबार साँझदेखि मौसम बदली: यी ठाउँमा हुनेछ वर्षादेखि हिमपात, चिसो पनि बढ्ने

काठमाडौं — पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै मौसम प्रणालीको असरले तापक्रममासमेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले भनेको छ।

'वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,' विभागले भनेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १९:२२
Weather Update