News Griha :: न्यूजगृह
एसीसी यू–१९: रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्ध नेपाल एक विकेटले विजयी

काठमाडौं — एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिमले अफगानिस्ताविरुद्ध एक विकेटको सहज जित निकालेको छ।

मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो।

नेपालले जितका लागि नौ रन आवश्यक हुँदा आठौँ विकेट गुमाएको थियो। अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त धामी र युनिस ठकुरीले नौ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित निकालेको हो।

शीर्ष क्रम धराशायी बने पनि नेपालबाट आठौँ नम्बरमा ब्याटिङका निम्त आएका नरेन साउदले सर्वाधिक २६ रन बनाए। सम्हालिएर ब्याटिङ गरेका उनले ५४ बलमा दुई चौका प्रहार गरे।

१०औँ नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित २२ रन बनाए। उनले ३३ बलमा दुई चौका प्रहार गरे। नवौँ नम्बरमा ब्याटिङमा आएका अभिषेक तिवारीले १३ रन थपे। अर्जुन कुमालले ६२ बलमा दुई चौकासहित २१ रन बनाए। 

अफगानिस्तानका एएम घाजन्फिर र खातिर स्तानिकजाईले समान तीन विकेट लिए। अब्दुल अजिज र महबुब खानले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। अफगानिस्तानका फैसल सिनुजादाले ५२ रन बनाए। स्तानिकजाईले १५, घाजन्फिरले ११ र नासिर खानले १० रन थपे। 
नेपालका सन्तोष यादव र युनिस ठकुरीले समान तीन विकेट लिए। हेमन्त धामी र अभिषेक तिवारीले दुई–दुई विकेट लिए। प्रतियोगितामा नेपालको यो पहिलो जित हो। योसँगै नेपालको एसिया कप यात्रा समाप्त भएको छ।

नेपालले तीन खेलबाट दुई अंक जोड्दै समूह ‘बी’ मा तेस्रो स्थान हासिल गर्‍यो। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:३९
Weather Update