News Griha :: न्यूजगृह
एनपीएलमा उत्कृष्ट हुने खेलाडीलाई शारडा ग्रुपले गाडी दिने

काठमाडौं— नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा ग्रुपले गाडी प्रदान गर्ने भएको छ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो। ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए।

उनले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपीएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताए।

यसैगरी एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे।

पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौं गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १९:०६
Weather Update