
धनकुटा— धनकुटाको तल्लो टुँडिखेलमा १५औँ शहीद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
२ जेठसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ वटा फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए । जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रयोजनमा सम्पन्न खेलका लागि ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । २०३२ सालमा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो ।
उनैको सम्झना र सम्मानमा २०५५ सालदेखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।