
काठमाडौं— चर्च ब्वाईज युनाईटेड राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
फ्रेण्ड्सले १४औं मिनेटमा अग्रता लिएको थियो । फ्रेण्ड्सले दोस्रो राउण्डमा हारबाट लिगको आरम्भ गरेको छ भने चर्च ब्वाईजले जितबाट सुरु गरेको छ । फ्रेण्ड्सका बेन क्वान्साले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
मैदानको दायाँ भागमा प्राप्त फ्रिकिकमा डोना थापाले प्रहार गरेको बललाई क्वान्साले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । खेलको अन्त्यतिर फ्रेण्ड्सका डिफेन्डरले रञ्जीत सिंह पाण्डेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चर्च ब्वाईजले पेनाल्टीको अवसर पाएको थियो ।
अञ्जन बिष्टले पेनाल्टी अवसरलाई सहजै गोलमा परिणत गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन आक्रामक देखिएको फ्रेण्ड्स अगाडि बढेको मौकामा चर्च ब्वाईजले इन्जुरी समयमा गोल थप्यो ।
मौसम सुब्बाले पेनाल्टी बक्स बाहिरबाट उपलब्ध गराएको पासलाई आशिष चापागाईंले फ्रेन्ड्सका दुई डिफेन्डरलाई विट गर्दै टोलीलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका हुन् । यससँगै चर्च ब्वाईजले जारी लिगमा छैठौं जित निकालेको छ ।
१४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाईज गोल अन्तरमा शीर्ष स्थानको जावलाखेल भन्दा एक स्थान तल रहेको हो । यस्तै पराजित फ्रेन्ड्स जारी लिगमा सातौ हार भोगेको छ । समान १४ खेल खेलेको फ्रेण्ड्स १५ अंकका सात १३ औं स्थानमा छ ।
लिगअन्तर्गत च्यासल मैदानमा बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले स्तब्ध बनायो । हिमालयनको जितमा खामिर गिल्सनले निर्णायक गोल गरे । निकै रोमाञ्चक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहीत बराबरी खेलेका थिए । दोस्रो हाफमा भने आक्रामक देखिएको हिमालयन शेर्पाले सातदोबाटोमाथि दबाब दिएर खेलेको थियो । सो क्रममा खेलको ६५ औं मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् ।
पिस्टन मुटुम्बाको पासमा डिबक्सको ठिक बाहिरबाट गिल्सनले टोलीका लागि अग्रता दिलाएका थिए । सोही अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको हो । यससँगै जारी लिगमा हिमालयन शेर्पाले चौथो जित निकालेको छ । शेर्पाले १४ खेलमा १७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।
उता अनपेक्षित नतिजा भोगेको सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यससँगै सातदोबाटोले जारी लिगमा चौथो हार भागेको छ । समान १४ खेल खेलेका सातदोबाटोको २२ अंकका सात तालिकाको चौथो स्थानमा छ । लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफ र न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेल दशरथ रंगशालामा मच्छिन्द्र र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।