News Griha :: न्यूजगृह
 यू-१९ अभ्यास खेल : नेपालले ३-२ ले जित्यो शृङ्खला

काठमाडौं — एसीसी यू–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग ५ खेलको शृङ्खला नेपालले ३-२ ले जितेको छ। त्रिवि मैदान कीर्तिपुरमा आज (बिहीबार) भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले कर्नाटकलाई ७ विकेटले पराजित गर्दै शृङ्खला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको हो। 

४० ओभरमा ३ विकेट मात्र गुमाएर १९२ रनको लक्ष्य नेपालले भेट्टायो। नेपालका लागि दुवै ओपनर ब्याटर आकाश त्रिपाठी र मयन यादवले अर्धशतक बनाए। आकाशले अविजित ८९ रन बनाए। यसका लागि उनले १०५ बलको सामना गरेर ७ चौका र १ छक्का हाने। यमनले ५० रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए। 

कर्नाटकका लागि प्रणव अश्वथले २ विकेट र तेजसले १ विकेट लिए। पहिले ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९१ रन बनाउँदै नेपालसामु जितका लागि १९२ रनको लक्ष्य तेर्स्यायो। कर्नाटकका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन बनाए भने इसा पुथिगेले ३८ रन र ओपनर गगन रावले ३४ रन हाने।

नेपालका लागि हेमन्तले ३ विकेट लिए। यसअघि नेपालले पहिलो खेल ७ विकेटले र तेस्रो खेल १२१ रनले जितेको थियो भने कर्नाटकले दोस्रो खेल १ विकेटले र चौथो खेल ५ विकेटले जितेको थियो। 

यू–१९ एसिया कप यही मङ्सिर १४ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदै छ। एसिया कपको समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन्।

प्रतियोगितामा नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्नेछ। समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र जापान रहेका छन्। सेमिफाइनल मङ्सिर २१ गते र फाइनल २३ गते हुनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:५५
Weather Update