कर्नाटकविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल ७ विकेटले विजयी
-1731668071.jpg)
काठमाडौं— कर्नाटकविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी भएको छ। आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।
पहिले ब्याटिङ गर्दै जितका लागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेटमात्र गुमाएर सहजै भेट्टायो।
नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे भने मयन यादवले ३२ रन र नरेन भट्टले १४ रन बनाए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुना टोली कर्नाटकले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सक्यो।
कर्नाटकका ऋषभले ४० रन तथा ओपनर प्रतीकले ३७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जितसँगै ५ खेलको शृङ्खलामा नेपालले १–१ को बराबरी गरेको छ। पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १६:३९