News Griha :: न्यूजगृह
यू–१९ विश्वकपमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

काठमाडौं— आईसीसी महिला यू१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई बधाइ दिँदै पुरस्कार दिने घोषणा गरेको हो। क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।

यसअघि बुधबार यूएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो। 
नेपालले आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ुडीु मा प्रतिस्पर्धा गर्नेछ।

समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्। 

विश्वकपमा छनोट भएसँगै नेपाली यू१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ। 

यू१९ महिला एसिया कप एसीसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।

विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ। अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १८:०२
Weather Update