काठमाडौं— यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले थाइल्यान्डमाथि लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको हो।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदा अलआउट भयो।
थाइल्यान्डलाई कम स्कोरमा रोक्न प्लेयर अफ दि म्याच समेत बनेकी कुसुम गोदारले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ९ रन खर्च गरिन्।
रिया शर्मा र रचना कुमारी चौधरीले समान २ विकेट लिए। पुजा महतोले एक विकेट आफ्नो नाममा गरिन्।थाइल्यान्डका कोरानितले बनाएको ६ रन नै सर्वाधिक रह्यो। अन्य तीन खेलाडीले समान ५ रन बनाए। ६ ब्याटर शुन्य रनमा नै पेभेलियन फर्के।
त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो। नेपालकी सना प्रविनले अर्धशतक पूरा गरिन्। उनले ४६ बलमा ७ चौका सहयोगमा ५३ रन बनाइन्। सावित्री धामीले २८ रन थपिन्। सोनी पाख्रीन १९ रनमा रनआउट भइन्।
नेपालले मंगलबार कुवेतसँग पुनः खेल्नेछ। नेपालले कुवेतमाथिको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली यूएईसँग १३ रनले पराजित भएको थियो।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछन्।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।