News Griha :: न्यूजगृह
एसीसी यू-१९ एसियामा नेपालको पहिलो भेट श्रीलंकासँग, टिम घोषणा

काठमाडौं— एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ। 

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा नेपाल र श्रीलंकासहित बंगलादेश तथा अफगानिस्तान छ। भारत, पाकिस्तान, यूएई र जापान समूह ‘ए’ मा छन्।

नेपालले डिसेम्बर १ मा बंगलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ। 

एसियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको तीन गरी जम्मा आठ टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता यूएईको दुबई र शारजहामा हुनेछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार यो प्रतियोगिताका लागि टिमसमेत घोषणा गरेको छ। हेमन्त धामीलाई कप्तान बनाइएको छ भने अर्जुन कुमाल उपकप्तान बनेका छन्। हालै भएको घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी पनि टिममा समेटिएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:४०
Weather Update