News Griha :: न्यूजगृह
क्यानडामा खेल्न असहज भयो, अमेरिकामा ब्याटिङमा चुक्यौँ: कप्तान पौडेल

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताएका छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान पौडेलले यस्तो बताएका हुन् ।

'क्यानडामा खेल्न केही असहज भयो, तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुक्यौँ,' कप्तान पौडेलले भने । कप्तान पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने जनाए ।

एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताएका हुन् । यी फर्म्याटका क्रिकेट खेल्दा ब्याटर परिपक्व हुने कप्तान पौडेलले विश्वास गरे । हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उनले उल्लेख गरे । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ ।

उनले लिग–२ को तीन वटा शृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए । कप्तान पौडेलले ट्वान्टी–२० फर्म्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याटर भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे । अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उनले दाबी गरे ।

नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणलाई लिएर उत्साहित रहेको समेत कप्तान पौडेलले बताए । सबै टोलीले तयारी गरिसकेको र यसपल्ट एनपीएल राम्रो हुने पनि उनले आशा राखे । नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए ।
अमेरिकामा टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उनको भनाइ छ । अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि एउटा ब्याटर भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनले बताए । उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए ।

घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने उनले सुनाए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनको भनाइ छ । अबको २४ खेलमा राम्रो क्रिकेट खेल्दै नतिजा ल्याउने उनले दाबी गरे । नेपालले अमेरिकाको शृंखलामा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो ।
स्कटल्याण्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन । अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो । लिग–२ को अंकतालिकामा नेपाल १२ खेलबाट ६ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १६:१५
Weather Update