News Griha :: न्यूजगृह
यू–१९ महिला विश्वकप छनौट : कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौं— यूएईमा भइरहेको आईसीसी  यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो। 

नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि रचना चौधरी र सीमा केसीले समान २ विकेट लिए।

पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले समान १ विकेट आफ्नो नाममा गरे। त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १  सय ३० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन्। सना प्रधानले २५ रन थपिन्। ज्योत्सना मरासिनी २३ र अलिसा यादव १५ रनमा पेभेलियन फर्के।

नेपालले २४ गते यूएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फर्म्याट्मा  हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा स्थान बनाउनेछन्। 

  यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:२५
Weather Update