News Griha :: न्यूजगृह
लिग २ मा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै

काठमाडौं— नेपालले आज स्कटल्याण्डसँग अन्तिम खेल खेल्दै आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमण टुङ्ग्याउँदै छ।

यी दुईबीचको खेल  डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ। अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो।

स्कटल्याण्डविरुद्ध भने नेपाल तीन ओडीआई यता अपराजित छ। जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। 

लिग २ का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। तालिकाको सातौँ स्थानमा रहेको नेपालको मात्र ५ अंक छ। दश खेलबाट १३ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ। 

गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही भदौ ३१ र असोज ६ मा क्यानडासँग र असोज २ र ८ मा ओमानसँग खेल्यो। त्यहाँबाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंक मात्र जोडेको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १०:३०
Weather Update