काठमाडौं— इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले म्यानचेष्टर सिटीलाई २–१ ले हराउँदै ऐतिहासिक जित निकालेको छ। एन्टोइन सेमेन्यो र इभानलिसनको गोलमा बर्नमाउथले पहिलो पटक सिटीलाई पराजित गरेको हो।
गएराति भएको खेलमा सिटीका लागि जस्को गार्डिओलले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्। लिगमा साविक विजेता सिटीको यो पहिलो हार पनि हो। हारपछि सिटी १० खेलबाट २३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ।
अर्को खेलमा ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको छ। लिभरपुलले ब्राइटनलाई २–१ गोलले हरायो। लिभरपुलको १० खेलमा २५ अङ्क भएको छ। गएराति भएका अन्य खेलमा आर्सनल न्युकासलसँग १–० गोलले पराजित भयो। १८ अङ्क रहेको आर्सनल चौथो स्थानमा झरेको छ।
त्यस्तै वेष्टह्याम युनाइटेडलाई ३–० ले हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा उक्लिएको छ। फरेस्टको १० खेलमा १९ अङ्क भएको छ।
साउथह्याम्पटनले एभरटनलाई १–० ले हराउँदा लेस्टर सिटी र इपस्विच टाउनले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्। प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। आज टोटनहम र एस्टन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र चेल्सीबीच खेल हुनेछ।