काठमाडौं— आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो।
जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रन बनाउँदै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे।
अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए। जसदीप सिंहको बलमा उनी बोल्ड भए। दोस्रो विकेटका लागि अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए।
भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए।
यस्तै सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले। दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए।
अमेरिकाका सौरभ नेत्रवालकरले ९।५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।
अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।
नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए।
नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।
नेपाल लिग २ मा ११ खेल खेल्दै २ मा जित र ८ मा हारसहित ५ अंक जोडेर सातौं स्थानमा छ।