लमजुङ— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ यति वेला चर्चामा छिन्। गोल गर्ने कला, ‘सेलिब्रेसन’ गर्ने शैली र ‘हेयर स्टाइल’ले ‘साम्बा’ चर्चामा छन्।
भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा छन्। नेपाललाई विजयी गराउँदै फाइनलमा पुर्याएसँगै भण्डारीको चर्चा चुलिएको छ। भण्डारी लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन्। थमन भण्डारी र मुना भण्डारीकी माइली छोरीका रूपमा २०५३ जेठ १५ गते मनाङको चामेमा जन्मिएकी हुन्।
भण्डारीका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग छन्। उनकी आमा मुनाले भनिन्, ‘दुःख गरी हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने लाग्थ्यो।’
भण्डारी नौ/दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्थिन्। ‘जति वेला फुटबल मात्रै खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्।’
साम्बाको एउटै उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपाली टोलीबाट खेल्ने। ‘काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने,’ भण्डारीकी आमा मुनाले भनिन्।
आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउँछिन्। ‘सानैदेखि हामीले साँझबिहान घाँस काट्न लगाउँथ्यौँ, १४/१५ वर्षको उमेरमा गोरु जोत्न थालिन्, आली लगाउने, गाउँमा खसीबोका मार हान्दै हिँड्थिन्,’ आमा मुनाले भनिन्।
सावित्रा जति वेला पनि मोजाको बल लुकाएर विद्यालय लैजान्थिन्। गाउँमा साथीभाइ बटुलेर फुटबल खेल्ने गरेकी उनका बुबा थमन बताउँछन्। सावित्राका लागि सबैभन्दा महत्त्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो। ‘जति वेला पनि बल खेल्ने। केटाहरूसँग बल खेल्ने हुँदा गाउँलेहरूले छोरी मान्छे भएर पनि केटाहरूसँग बल खेलेर हिँड्छे‚ तेरी छोरी बिग्रिई भनेर कुरा काट्थे। अहिले त उसैले देशकै नाम राखेकी छ। हिजो कुरा काट्नेहरू आज प्रशंसा गर्छन्,’ बुबा थमनले भने।
बुवा थमनले सावित्राले १० वर्षको उमेरदेखि नै छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने गरेको बताएका छन्। सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए। त्यसैले उनी मनाङको चामेमा जन्मिन पुगेकी हुन्। त्यहीँ लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन्‚ पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किइन्।
त्यो वेला एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी र दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या भएको बुवा थमनले बताए। ‘अहिले हामीलाई छोरी सावित्राले हेरेकी छ। हामीलाई पहिलाको जस्तो दुःख छैन,’ बुबा थमनले खुसी हुँदै भने।
सावित्राले गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढिन्। गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन्।
‘गणेश माविमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दी रहिछन्, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो,’ बुबा थमनले भने, ‘जति वेला पनि फुटबल खेले पनि सावित्राको पढाइ पनि राम्रै थियो।’
सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो। उक्त क्लबमा आबद्ध भएर प्रतियोगितामा सहभागी भइन्। मनास्लु युवा क्लब प्रथम भयो।
बुबा थमनले भने, ‘छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रियस्तरसम्म पुग्ने अवसर दिनुभयो। काठमाडौं जान्छु भनेर खबर गरिन्। म मनाङमै थिएँ। दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौं पठाएँ।’
काठमाडौं गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा जागिर खाइन्। बुबाआमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो। ‘दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्,’ बुबा थमनले भने।
सावित्राको खेल बुबाआमाले मोबाइलबाट हेर्नुहुन्छ। सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबाआमाले घरमा सुरक्षित राखेका छन्। सावित्राका छिमेकी मधुराम भण्डारी उनले मोजाको बल बनाएर खेल्ने गरेको स्मरण गर्छन्। उनले भने‚ ‘हामी पहिला सँगै बल खेल्थ्यौँ, हामीले उसलाई बल टिप्न लगाउँथ्यौँ, उसको चन्चले स्वभाव थियो, केही गर्ली जस्तो लाग्थ्यो, निडर स्वभाव थियो।’
सावित्राले लमजुङस्थित गाउँको खेतदेखि दशरथ रङ्गशाला हुँदै युरोपसम्मको यात्रा तय गरेकामा गाउँका सबै खुसी छन्। रासस